हुलाक सेवा -अस्तित्वका लागि सङ्घर्ष

June 7, 2013
कुनै बेला बिहान कार्यालयमा हाजिर भएदेखि बिदा नहोउञ्जेल व्यस्त रहने हुलाक कार्यालयहरूका कर्मचारीहरू आजभोलि दिनभर फुर्सदमै हुन्छन् । निजीक्षेत्रबाट कुरियर सेवा तथा मोबाइल, इमेल, इण्टरनेटजस्ता आधुनिक प्रविधिका कारण व्यक्तिगत चिठीपत्रको सङ्ख्या घट्दै गएपछि उनीहरूको काम हलुका भएको हो । उनीहरू हरेक दिन कार्यालय आउँछन्, फाट्टफुट्ट आउने सेवाग्राहीका चिठीपत्र बुझ्छन्, दिन कटाउँछन् र घर फर्कन्छन् । ‘तर, एउटा चिठी आउँदा पनि हामीले सेवा दिनैपर्छ,’ प्रमुख हुलाक अधिकृत बाबुराम पाण्डे बताउँछन् । हुलाक सेवाले गरिरहेको काममा निजीक्षेत्रको उपस्थिति बढेपछि हुलाकको भूमिका कम हुँदै गएको अधिकारीहरू बताउँछन् ।
हुलाक सेवा विभागमातहत हाल देशभर झण्डै ४ हजार हुलाक कार्यालयको सञ्जाल छ । विभागका महानिर्देशक लोकप्रसाद आचार्यका अनुसार देशभर झण्डै २० हजार कर्मचारी हुलाक सेवामा कार्यरत छन् । तीमध्ये आधा कर्मचारी करारमा नियुक्त भएका हुन् । हुलाक सेवाका लागिमात्र सरकारले वार्षिक १ अर्ब ९० करोड रुपैयाँ उपलब्ध गराउँछ । सो रकम तलब–भत्ताकै प्रयोजनमा खर्च हुने गरेको आचार्यले जानकारी दिए । हुलाकले आफूलाई आधुनिकीकरण गर्न नसक्दा अस्तित्व रक्षाका लागि सङ्घर्ष गर्नु परेको उनको भनाइ छ । ‘हुलाकले चिठीपत्रका अतिरिक्त अन्य सेवाहरू पनि प्रारम्भ गर्ने बित्तिकै त्यस्तै प्रकृतिको सेवा निजीक्षेत्रले पनि दिन थालेपछि प्रतिस्पर्धामा पछि परिन्छ ।’
हुलाकले चिठीपत्र आदानप्रदानसँगै हुलाक बचत बैङ्क, कुरियर, ईएमएस, पार्सल, पोष्टकार्ड, पत्रपत्रिका वितरणलगायत काम गर्दै आएको छ । तीमध्ये अधिकांश काम गर्ने उद्देश्यले निजी कम्पनीहरू पनि खुलेका छन् । सरकारले निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवाको उपस्थिति खुम्चँदै गएको आचार्यको अनुभव छ । उनका अनुसार चिठीपत्रको व्यक्तिगत आदानप्रदान कम भएपछि पनि पार्सल र कुरियर सेवामार्फत हुलाकले राम्रो आम्दानी गथ्र्यो । तर, निजीक्षेत्रबाट स्थापित कुरियर कम्पनीहरूले हुलाकको तुलनामा सस्तो र छिटो सेवा दिन थालेपछि हाल यसको आकर्षण पनि घट्दै गएको छ ।
आधुनिकीकरणको प्रयास : हुलाक वित्तीय सेवा
नियमित सेवाबाहेक हुलाक सेवाले पछिल्लो समय वित्तीय सेवाहरू पनि सञ्चालनमा ल्याएको छ । हुलाक बचत बैङ्क, रेमिट्यान्स, ‘मनी अर्डर’जस्ता सेवा हुलाकले पछिल्लो समय थप गरेको हो । वेष्टर्न युनियनसँगको सहकार्यमा हुलाकले सन् २००७ देखि रेमिट्यान्स सेवा प्रारम्भ गरेको थियो । एक स्थानबाट अर्को स्थानसम्म तथा मुलुकबाहिरका सात देशबाट पैसा आदान प्रदान गर्न ‘मनी अर्डर’ सेवा सञ्चालनमा ल्याएको बताइएको छ । यो सेवा भने हुलाकले सन् १९७५ देखि सञ्चालनमा ल्याएको हो ।
साख धान्दै हुलाक बचत बैङ्क
हुलाक सेवाले ‘हुलाक बचत बैङ्क निर्देशिका २०६६’मार्फत पछिल्लो समय हुलाक बचत बैङ्कलाई सक्रिय बनाएको छ । विसं २०३३ मा ‘बचत बैङ्क नियमावली’ निर्माण भएपछि ल्याइएको यस अवधारणाले साख धानिरहेको हुलाक अधिकारीहरू बताउँछन् । हुलाक सञ्जाल हरेक गाउँ विकास समितिमा पुगेको र बचत तथा ऋण प्रवाह गर्ने बैङ्क र सहकारीको उपस्थिति नभएका कारण हुलाक बचत बैङ्कप्रति जनताको आकर्षण रहेको आचार्य बताउँछन् । देशभरका ७५ ओटै जिल्ला हुलाक कार्यालय र ४२ ओटा इलाका हुलाक कार्यालयले हुलाक बचत बैङ्कको कारोबार गर्दै आएका छन् । तर, निजी तथा सरकारीस्तरका बैङ्क तथा सहकारीको विस्तार हुन थालेपछि कतिपय स्थानमा हुलाक बैङ्क पनि राम्रोसँग सञ्चालनमा आउन नसकेको आचार्यको भनाइ छ । बचतमा निजीक्षेत्रका बैङ्कले बढी ब्याज दिने तर हुलाक बैङ्कले सरकारी निर्णयपछि मात्र ब्याज निर्धारण गर्न पाउने भएपछि प्रतिस्पर्धामा पछि पर्ने गरेको उनको भनाइ छ । ‘निजीक्षेत्रका कम्पनी आक्रामक रूपमा बजार विस्तार गर्छन्, सरकार त्यसो गर्न सक्दैन,’ उनी भन्छन् । हुलाक बचत बैङ्कमा सर्वसाधारणले बचत गरेको रकम हुलाक कर्मचारीमा मात्र ऋण प्रवाह गर्न पाउने प्रावधान छ । प्रावधानअनुसार जनताको यस्तो रकमको जिम्मेवारी सरकारले लिएको हुन्छ । आर्थिक वर्ष २०६८/६९ सम्म बैङ्कमा देशभरबाट ५४ हजार ७ सय ९६ जना निक्षेपकर्ता पुगेका थिए ।  
राजस्व : सुस्त गतिमा वृद्धि
गोश्वारा हुलाक, सुन्धाराले गत वर्ष १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस आर्थिक वर्षको अन्त्यसम्म राजस्व बढेर १६ करोड रुपैयाँ पुग्ने अनुमान पाण्डेको छ । हुलाकले टिकट विक्री तथा अन्य गतिविधि (बचत बैङ्क, रेमिट्यान्स, कुरियर सेवालगायत)मार्फत राजस्व सङ्कलन गर्दै आएको छ । शौखका लागि टिकट खरीद गर्ने, सङ्कलन गर्ने र पुराना टिकट लीलाममा बेच्ने सर्वसाधारणको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको बताइन्छ । टिकट विक्रीमार्फत विभागले वार्षिक १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्छ । गोश्वारा हुलाक कार्यालयस्थित ‘फिलाटेलिक’ विभागले टिकट व्यवस्थापन गर्दै आएको छ । हुलाक सेवा विभागको तथ्याङ्कअनुसार देशभरबाट हुने राजस्व सङ्कलनमा पनि सुस्त वृद्धि भएको छ । आव २०६८/६९ मा देशभर हुलाक कार्यालयमार्फत विभागले वार्षिक २५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो । अघिल्लो आव २०६७/६८ मा विभागले २३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो । सन् २०६६/६७ मा विभागले २० करोड ९३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
कर्मचारीको विकर्षण
हुलाक सेवा निजामती सेवामा ‘डम्पिङ साइट’का रूपमा चर्चित छ । तलबभत्ताबाहेक १ रुपैयाँ पनि अतिरिक्त कमाइ नहुने भन्दै यस क्षेत्रप्रति विकर्षण बढेको हो । कम भूमिका, अत्याधुनिक प्रविधिको अभाव र मनोबल बढाउने खालका कार्यक्रम सञ्चालन हुन नसक्दा हुलाक सेवाप्रति कर्मचारी पनि आकर्षित नहुने अधिकारीहरू बताउँछन् । हुलाक सेवामा कार्यरत कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारीका रूपमा हेरिने कर्मचारीहरूको गुनासो छ ।
पोष्टबक्सको सङ्ख्या स्थिर
पछिल्लो समय हुलाक सेवा सर्वसाधारणबाट टाढिँदै छ । व्यक्तिगत चिठीपत्रको सङ्ख्या घटेसँगै सर्वसाधारणले हुलाक सेवा प्रयोग गर्न छाडेका हुन् । तर, विशेष व्यवसायमा संलग्न व्यक्ति तथा संस्थाका लागि भने अहिले पनि हुलाक सेवा अत्यावश्यक रहेको गोश्वारा हुलाक कार्यालय, सुन्धाराका प्रमुख हुलाक अधिकृत पाण्डे बताउँछन् । सरकारी चिठीपत्र, पत्रपत्रिका, कार्यालय प्रयोजनमा प्रयोग हुने चिठी तथा पोष्टकार्डको आदानप्रदानमा हुलाक सेवाकै प्रयोग गर्ने ग्राहकको सङ्ख्या भने नघटेको उनको भनाइ छ । निजीक्षेत्रबाट सञ्चालित कुरियर कम्पनीहरूले यस प्रकारको सेवा दिन थालेसँगै हुलाकको काममा कमी आउनु स्वाभाविक हो । तर, पोष्टबक्स सेवा उपयोग गर्ने सेवाग्राहीको सङ्ख्या भने स्थिर छ । हाल गोश्वारा हुलाक कार्यालयबाट मात्र करीब १६ हजार जनाले पोष्टबक्स सेवा लिइरहेका छन् । विभागको तथ्याङ्कअनुसार देशभरबाट पोष्टबक्स सेवा लिने सेवाग्राहीको सङ्ख्या २० हजारभन्दा बढी छ । हाल पोष्टबक्स नवीकरण तथा नयाँ पोष्टबक्स नम्बर लिन समान (७ सय ५०) रुपैयाँ शुल्क तिर्नुपर्छ । पोष्टबक्समार्फत हुने आम्दानीमा पनि पछिल्ला वर्षमा सामान्य वृद्धि भएको छ । पोष्टबक्समार्फत अघिल्लो वर्ष १ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले आव २०६७/६८ मा १ करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

हुलाकले आफूलाई अत्याधुनिक बनाउनुपर्छ

अनिल राजभण्डारी
पूर्वअध्यक्ष, नेपाल कुरियर सेवा सङ्घ


हुलाकले भन्दा छिटोछरितो सेवा दिने भएपछि निजीक्षेत्रका कम्पनीले जनताको मन जित्न थालेका हुन् । वास्तवमा हुलाक र निजीक्षेत्रको मूल्यमा त्यति धेरै फरक छैन । त्यसैले चाहेको अवस्थामा सामान उपलब्ध हुन थालेपछि मानिसले किन हुलाक नै रोज्ने ? सूचना–प्रविधिमा भएको विकासले निजीक्षेत्रबाट सञ्चालित कुरियर कम्पनीलाई पनि असर पुगेको छ । अब कागजात कुरियरमार्फत पठाउने जमाना लगभग सकियो । त्यसैले व्यापारिक प्रयोजनका सामानको ढुवानीमा कम्पनीहरू केन्द्रित छन् । निजीक्षेत्रको विशेषता सानो पोकादेखि ट्रकभरिको सामान पनि कुरियर गर्न सकिन्छ । यसले ग्राहकलाई छनोटको अवसर पनि दिएको छ । हुलाकले आफूलाई अत्याधुनिक बनाउनुपर्छ । चिठीपत्रको जमाना गइसक्यो । तर, हुलाकको सञ्जाल गाउँगाउँ पुगेको छ । त्यसैले नयाँ काम थाल्दा सफल हुने सम्भावना पनि उसको बढी छ । किनकि निजीक्षेत्रले ग्रामीण र दूरदराजका स्थानमा अझै पनि सेवा विस्तार गर्न सकेको छैन ।

Comments