अक्वा–पोनिक्स : थोरै लगानी, मनग्गे आम्दानी

 
स्वदेशमा रोजगारी नपाएकै निहुँमा विदेशिने नेपाली थुप्रै छन् । कृषि तथा पशुपालनमा लाग्न जमीन र लगानीको अभाव देखाउनेहरूको सङ्ख्या पनि ठूलै छ । शहरी इलाकामा मात्रै होइन, पहाडी तथा हिमाली भेगमा समेत उर्वर माटोयुक्त पर्याप्त जमीन नहुँदा तरकारी, फलफूलजस्ता अत्यावश्यक वस्तु खरीद गर्नुपर्ने बाध्यता छ । बजारमा उपलब्ध वस्तुमा पनि विभिन्न रासायनिक तत्वको मिसावट हुने हुँदा ताजा र अग्र्यानिक वस्तु फेला पार्न निकै गाह्रो छ ।

यति हुँदाहुँदै पनि अलिकति जाँगर देखाउने हो भने अब सानो क्षेत्रफलमा माटोविना नै एकैपटक अग्र्यानिक तरकारीसँगै माछापालन समेत गर्न सकिने भएको छ । बढीमा १२ आना क्षेत्रफलमा फैलिएको नर्सरीभित्र पानी र गिट्टीको प्रयोग गरी माछा पालनसँगै विभिन्न प्रकारका तरकारी र फलफूल उत्पादन गर्न सकिने ‘अक्वा–पोनिक्स’ नामक प्रविधि नेपाल भित्रिएको छ ।

तपाईं पत्याउनुहुन्छ ? करीब १ महीनाअघि गिट्टीको सहायतामा रोपिएको काँक्राको बोटमा फल लागिसकेको छ, पोखरीमा तैरिराखेको सलाद र रायोको साग टिप्न मिल्ने भइसकेको छ भने बोडीको लहरामा फूल फुल्न थालिसकेको छ । त्यति नै बेला छाडिएका माछाका भूरा निकै ठूला भइसकेका छन् । रोटरी क्लब अफ पाटन (आरसी पाटन)को सक्रियतामा अक्वा–पोनिक्स प्रविधिमार्फत ललितपुरको सुनाकोठी गाविसमा खोलिएको नमूना फार्ममा यी सबै गतिविधि अवलोकन गर्न सकिन्छ । करीब १ महीनाअघि नेपाल भित्र्याइएको अक्वा–पोनिक्सबाट थोरै लगानीमा पर्याप्त आम्दानी गर्न सकिने यसलाई नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेको रोटरियन सोम पनेरू बताउँछन् । काठ, माटो, प्लाष्टिक, पराल, बाँसलगायत सामान्य घरायसी सामग्री प्रयोग गरी तयार पारिएको नर्सरीबाट सागसब्जी, काँक्रा, बोडी, भिण्डी, भण्टा, काउली, बन्दाजस्ता तरकारी उत्पादन गर्न सकिन्छ ।   
अक्वा–पोनिक्समार्फत कसरी उत्पादन हुन्छ ?
प्रत्यक्ष घाम पर्ने भागमा प्लाष्टिक र त्यसको अर्कोतर्फ खर तथा परालको छानो बनाई अक्वा–पोनिक्स फार्म तयार पारिन्छ । घाम पर्ने स्थानमा प्लाष्टिक प्रयोग गर्नाले फार्मभित्र आवश्यक तापक्रम कायम राख्न मद्दत पुग्छ । फार्मको सबैभन्दा पछिल्लो छेउको बायाँबाट २५÷२५ सय लिटर क्षमताका तीनओटा ट्याङ्की राखी पनेरूले माछा पालेका छन् । ‘टिलापिया’ जातका यी माछा चितवनबाट ल्याइएको उनले जानकारी दिए । पूर्णरूपमा हुर्किएको एउटा माछा आधा किलोग्राम तौलसम्मको हुन्छ । उनका अनुसार एउटा ट्याङ्कीमा डेढसय ओटासम्म माछा पाल्न सकिन्छ ।

ती ट्याङ्कीबाट दायाँतर्फ आठओटा काठको पानी जम्न सक्ने ‘ड्याङ’  बनाइएको छ । हरेक ड्याङमा माटोको सट्टा गिट्टी (बिरुवालाई ठाडो राख्न सहयोग गर्नका लागि यसको प्रयोग गरिन्छ) राखि त्यसमा पानी भरिएको छ । यी ड्याङमा माछाको मलमूत्र तथा माछाले नखाएको दाना मिसिएको मलिलो पानी जान्छ । ड्याङमा आवश्यक पानी भरिसकेपछि उक्त पानी ड्याङको अर्कोतर्फ बनाइएको लामो पोखरीमा आइपुग्छ । पोखरी ढाकिने गरी माथिबाट प्लाष्टिकका पाताहरू तैराएर राखिएको हुन्छ । ती पातामा बनाइएका प्वालमा बिरुवा अट्ने सोली राखी त्यसमा सागसब्जीलगायत बिरुवा रोपिएको छ । यस प्रविधिमा बिरुवाका लागि आवश्यक नाइट्रोजन, फस्फोरस, पोटासलगायत तŒवको मात्रा पानी र माछाको मलमुत्रबाटै प्राप्त हुने वरिष्ठ तरकारी विज्ञ डा. भरतकुमार पौडेल बताउँछन् । पोखरीमा जम्मा भएको पानी बिरुवाको जरा हुँदै छेउसम्म आइपुग्दा पूर्णतया स्वच्छ भइसक्छ । सो पानी पुनः माछा पालिएको ट्याङ्कीमा जान्छ । यसरी पूर्णचक्र घुम्दा करीब १० प्रतिशतमात्र पानी खर्च हुने र ९० प्रतिशत पुनः प्रयोगमा ल्याउन सकिन्छ । तरकारीसँगै माछा पनि उत्पादन भइरहेका कारण कुनै पनि बालीमा रोग तथा कीटाणुले आक्रमण गर्दासमेत रासायनिक विषादी प्रयोग गर्नु हुँदैन । गाईको गहुँत, तितेपाती, खुर्सानीलगायत जडीबुटी प्रयोग गरी किटाणु नष्ट गर्नुपर्छ । ‘त्यसकारण यस प्रविधिबाट उत्पादित तरकारी पूर्णतया अग्र्यानिक हुन्छ,’ पनेरूले भने ।

रू. ७ लाखमै फर्म तयार
नमूना अक्वा–पोनिक्स तयार पार्न ७ लाख रुपैयाँ खर्च लागेको पनेरूले जानकारी दिए । उनका अनुसार विशेषगरी काठ, बाँस, पराललगायत वस्तु पर्याप्त भएको स्थानमा यो फार्म खोल्न अझ सस्तो पर्छ । फार्ममा प्रयोग भएको पानीको तापक्रम १७ डिग्रीभन्दा कम हुनु हुँदैन । जाडो महीनामा पानीको तापक्रम कायम राख्न सोलार प्यानल जडान गर्नुपर्छ । सौर्य ऊर्जाको प्रयोग गरी जाडो महीनामा पनि फार्मबाट नियमित माछा तथा तरकारी उत्पादन गर्न सकिन्छ ।


मासिक १ लाख कमाउने लक्ष्य

नमूना फार्ममा बिरुवा लगाएको एक महीनामै कतिपय तरकारी टिप्ने बेला भइसकेको छ । फार्मबाट एक टन माछा उत्पादन हुँदा ३० टनसम्म तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको पनेरूले बताए । ‘हालको नमुना फार्मबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा छ,’ उनले भने ।

प्रयोगमा आए उपयोगी छ : विज्ञहरू
भएकै माटोलाई पनि प्रयोग गर्न नसकिएको अवस्थामा माछा र तरकारी एकैपल्ट माटोविनै उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याउन गाह्रो हुने बाली विज्ञहरू बताउँछन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का निर्देशक डा. नीरञ्जन अधिकारी व्यावसायिक रूपमा भन्दा पनि घरायसी प्रयोजनमा यसको प्रयोग गर्न सकिने धारणा राख्छन् । ‘यो प्रविधि माटोको विकल्पमा आएको हो,’ उनी भन्छन्, ‘प्रयोगमा ल्याउन सके राम्रै हुन्छ ।’ वरिष्ठ तरकारी विज्ञ डा. पौडेल अक्वा–पोनिक्स नेपालमा अत्यावश्यक नभए पनि उपयोगी प्रविधि भएको बताउँछन् । ‘आवश्यकता हेरी विकास गर्न सके यसबाट राम्रै आम्दानी लिन सकिन्छ,’ उनले भने ।

Comments