सडक व्यापारी पनि तिर्छन् भाडा

‘फुटपाथको व्यापारबाटै लखपति’, ‘एक दिनमै हजारौंको व्यापार’, ‘विदेशको साटो स्वदेशकै व्यवसाय’जस्ता शीर्षकमा पत्रपत्रिकामा प्रशस्त समाचार छापिन्छन् सडक व्यापारका सम्बन्धमा। तर, पैदल यात्रु तथा यातायातका साधनका लागि बनाइएको सडकको अतिक्रमण भन्दै विभिन्न स्थानीय निकायले सडक व्यापारलाई अवैध पनि घोषणा गरेका छन्। व्यापार गर्नेमाथि फेला पारेसम्म नगरपालिकाले सामान जफत गर्ने तथा नगद जरीवाना तिराउँदै पनि आएका छन्। अर्कातिर, सडक व्यापारीबाट पैसा उठाएर खानेहरूको जमात पनि ठूलै छ। यसरी दोहोरो मार खेपिरहेका सडक व्यापारीका सम्बन्धमा अच्युत पुरीको रिपोर्ट।

फुटपाथमा व्यापार गर्नेहरूले पसल राखेबापत भाडा बुझाउनु पर्दैन, यस्तो व्यापारका कारण उनीहरू पर्याप्त कमाउँछन्– आमसोचाइ यस्तै छ । तर, राजधानीका सुन्धारा, बालाजु, नयाँ बानेश्वर, पुरानो बसपार्कलगायतका स्थानमा फुटपाथ व्यापार गर्नेहरूको भनाइ भने बेग्लै छ । स्थानीय क्लब, सङ्घसंस्था, साना व्यापारीको हकहितका लागि भन्दै खुलेका सङ्गठनहरू तथा स्थानीय गुण्डाहरूले उनीहरूसँग नियमित रूपमा पैसा असुल्ने गरेका व्यापारीहरू बताउँछन् । बालाजु क्षेत्रमा सडक व्यापार गर्ने नुवाकोटका अर्जुन न्यौपाने भन्छन्, ‘सडक व्यापारीहरूले विभिन्न शीर्षकमा विभिन्न निकायलाई पैसा बुझाइरहनु परेको छ ।’



कसले कति उठाउँछ सडक व्यापारी सँग ?

सडक व्यापारीसँग सबैभन्दा धेरै पैसा उठाउने ठूलो निकाय काठमाडौं महानगरपालिका (कामनपा) नै हो । महानगरपालिकाले फुटपाथमा पसल राख्न अवैध घोषित गरेको छ र कसैले सडकमा व्यापार गरिरहेको पाएमा पसल वा सामान जफत गर्ने तथा पसलेलाई जरीवाना गर्ने काम गर्दै आएको छ । ‘महानगरका पुलिसले समातेमा १ सय ५० देखि १ हजार २ सय रुपैयाँसम्म तिराउँछ,’ पुरानो बसपार्कको फुटपाथमा व्यापार गर्दै आएका सिन्धुपाल्चोकका नरेन्द्र तामाङ भन्छन् । यस क्षेत्रमा अन्य व्यक्ति वा क्लबका नाममा पैसा उठाउनेहरू भने नरहेको उनी बताउँछन् ।

तर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रका व्यापारीहरूले भने हरेक दिन दुईपटक १०–१० रुपैयाँका दरले रकम तिर्नुपर्छ । स्थानीय क्लबहरूले यसरी रकम असुल्ने गरेका हुन् । यस स्थानमा बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म सडक व्यापार सञ्चालन हुने गरेको छ । व्यापारीको सुरक्षा प्रबन्ध, फुटपाथको सरसफाइ तथा गोदामको सुरक्षा गर्ने निहुँमा सो रकम उठाइँदै आएको व्यापारी न्यौपाने बताउँछन् । आफूले सहज रूपमा व्यापार गर्न पाएकाले १०–१५ रुपैयाँको परवाह नगरेको स्वयम् व्यापारीहरू बताउँछन् ।

नयाँ बानेश्वर क्षेत्रका हरेक व्यापारीले मासिक ५० रुपैयाँ बानेश्वर व्यापार सङ्घलाई बुझाउँछन् । सङ्घले व्यापारीको हकहितमा खर्च गर्ने भन्दै पैसा उठाउने गरेको व्यापारी कमला फुयालले जानकारी दिइन् । झापा स्थायी घर भएकी उनले विगत ९ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएकी छन् । उनीहरूले गोदाम प्रयोग गरेबापत पनि मासिक ५ सय रुपैयाँसम्म बुझाउने गरेका छन् । यस क्षेत्रका सडक व्यापारीले सामान थन्क्याउन भाडामा गोदाम प्रयोग गर्दै आएका छन् । सुन्धारा क्षेत्रमा पनि २ वर्ष अघिसम्म व्यापार सङ्घका नाममा नियमित रकम असुल गरिन्थ्यो । तर, हाल सङ्घ नै सक्रिय नभएपछि रकम तिर्नु नपरेको तयारी पोशाक व्यापारी लक्ष्मण खनालले जानकारी दिए ।


क्लबका नाममा पैसा

राजधानीका असन, खिचापोखरी, भोटाहिटीलगायत भित्री सडकको फुटपाथमा सामान राख्ने अधिकांश व्यापारीले पनि स्थानीय क्लबलाई पैसा तिर्छन् । खिचापोखरीमा सटरमा पसल राखेका एक व्यापारीका अनुसार उनको सटर अगाडिको फुटपाथमा सामान राखेर त्यस्ता व्यापारीसँग स्थानीय क्लबहरूले पैसा असुल्ने गरेका छन् । ‘पछिल्लो समय धेरै फुटपाथ व्यापारीलाई हटाइएका कारण भने केही सहज भएको छ,’ ती व्यापारीले भने । राजधानीका अधिकांश व्यापारिक ठाउँमा त्यही ठाउँको नाममा क्लबहरू गठन भएका छन् । उनीहरूले दशैंतिहारलगायत विभिन्न अवसरमा चिट्ठा तथा गोलाप्रथाजस्ता ‘स्कीम’ ल्याई आफू सक्रिय रहेको देखाउँछन् । यसरी क्लब तथा सङ्घसङ्गठनका नाममा उठाइने रकमको हिसाब–किताब राख्ने कुनै पनि निकाय नहुँदा सो रकमको दुरुपयोग भइराखेको गुनासो व्यापारीहरूको छ ।

बानेश्वर क्षेत्रमा एक दशकदेखि अण्डर गार्मेण्टस् तथा ब्यागहरूको व्यापार गर्दै आएका दोलखाका चित्रबहादुर श्रेष्ठका अनुसार व्यापारिक हितका लागि भन्दै सङ्घले उठाएको पैसा कहाँ खर्च हुन्छ भनी खोजिनीति गरिएको छैन ।  पैसा असुल गर्नेहरूले व्यापारीको मनोबल बढाउने गरेको बताइन्छ । ‘तपाईंलाई समस्या पर्दा हामी लड्छांै, महानगरपालिकाले सामान पक्डिएमा छुटाइदिन्छौं, अधिकारका लागि आन्दोलन गर्छौं भन्दै पैसा उठाउँछन्,’ न्यौपाने भन्छन् । सडक व्यापारबाट लाखौं रुपैयाँसम्म व्यापार हुने भएपछि व्यापारी पनि पैसा तिर्न हिच्किचाउँदैनन् ।



कति छन् सडक व्यापारी ?

राजधानीमा सडक व्यापारीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क कसैसँग पनि छैन । तर, सडकमा व्यापार गर्नेहरूले १ हजारदेखि २ लाख रुपैयाँसम्म लगानी गरेको व्यापारीहरूको भनाइ छ । तयारी पोशाक, इलेक्ट्रोनिक्स सामान, कस्मेटिक्स, गिफ्ट आइटम, पुस्तक तथा घरायशी प्रयोजनका सामग्री, खानेकुरा आदि  सडकमा पाइन्छन् ।



के भन्छ महानगरपालिका ?

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारी महानगरपालिकाले तोकेको स्थानबाहेक अरू ठाउँमा व्यापार गर्नु र व्यापारीबाट पैसा असुल गर्नु दुवै अवैधानिक भएको बताउँछन् । ‘महानगरपालिकाले हाटबजारलाई प्रोत्साहन गर्छ, फुटपाथको व्यापारलाई होइन,’ उनले भने, ‘पैसा असुल गरेको प्रमाणसहित पेश गरे कारबाही हुन्छ ।’ तर, ती सङ्घसंस्थाले व्यापारीलाई सङ्गठित गरी विभिन्न आश्वासन दिएकाले यस प्रकारका उजुरी नआउने उनको अनुमान छ ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ को आधारमा महानगरपालिकाले अव्यवस्थित सडक व्यापारमा संलग्नमाथि कारबाही गर्दै आएको छ । महानगरपालिकाले ‘जरीवाना मापदण्ड २०६७’ ले दिएको प्रतिवेदनका आधारमा जरीवानाको व्यवस्था गरिएको बताइएको छ । महानगरपालिकाका नगर नायब निरीक्षक किशोरकुमार भट्टराईका अनुसार महानगरले ‘प्राइम स्थल (जमल, भोटाहिटी, रत्नपार्क, बानेश्वरलगायत)’ तोकेको ठाउँबाट पक्राउ परेका व्यापारीको सामान ३५ दिनसम्म फिर्ता हुँदैन । त्यसपछि बजार भाउका आधारमा २० देखि २५ प्रतिशतसम्म जरीवाना गरी सामान फिर्ता गरिने उनले जानकारी दिए । तर, खाद्यान्न भने सो राखेको सामान (साइकल, गाडालगायत) पक्राउ गरी तत्काल फिर्ता गरिने उनले बताए । प्राइम स्थलबाहेक भित्री गल्लीबाट पक्राउ परेका सामान भने सात दिनमै फिर्ता गरिँदै आएको छ ।



सडक व्यापारलाई व्यवस्थित बनाउन गाह्रो छ




केदारबहादुर अधिकारी
प्रमुख कार्यकारी अधिकृत
काठमाडौं महानगरपालिका



राज्यमा रोजगारीका अवसर पर्याप्त रूपमा उपलब्ध हुन सकेको छैन । त्यसले गर्दा मानिसहरू वैकल्पिक आयस्रोतको खोजीमा रहन्छन् । यसका लागि उनीहरूले फुटपाथ व्यापार रोज्ने गरेका छन् । महानगरले तोकेको स्थलबाहेक अन्य ठाउँमा बाटोघाटोलाई अवरुद्ध पार्ने गरी व्यापार–व्यवसाय सञ्चालन गर्नु अवैधानिक काम हो । अन्य अवसर नहुँदा कडा कानूनी प्रावधान हुँदाहुँदै पनि सडक व्यापारी घट्न सकेका छैनन् । सडक व्यापारीबाट सरकारले पैसा उठाउन सक्दैन । किनकी राज्यले सडकको व्यापारलाई होइन, हाटबजारलाई मात्र प्रोत्साहन गर्न सक्छ । राजधानीमा पर्याप्त स्थान नहुँदा सबै व्यापारीलाई व्यवस्थित रूपमा राख्न सक्ने अवस्था छैन । अर्कोतर्फ एक दिनको कमाइ त हो भन्दै पक्राउ पर्दा पनि व्यापारीले बाटोको व्यापार छाड्न सकेको छैन । यसले बाटोघाटोलाई असुरक्षित र महानगरपालिकालाई पनि कुरूप बनाएको छ ।

सडक व्यापारलाई व्यवस्थित गर्न दुईओटा विकल्प छन् । कि त मुलुकमा पर्याप्त रोजगारीको सृजना गरी व्यापारीहरूलाई अन्य पेशामा आबद्ध गराउनुपर्छ । कि त सडक व्यापारीका लागि छुट्टै बजार स्थलको व्यवस्था गर्नुपर्छ । ती दुवै कुरा तत्काल सम्भव देखिँदैनन् ।

Comments